काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकारको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी आधारभूत खाका सार्वजनिक गर्नुभएको छ । प्रतिनिधिीसभाबाट विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री देउवाले छिमेकी मुलुकसँग राम्रो सम्बन्ध नै पहिलो प्राथमिकता भएको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले दुवै छिमेकी मुलुक भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नै देशको राष्ट्रिय हितमा रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाका अनुसार, ‘नेपालको राष्ट्रिय हितका आधारमा विदेश सम्बन्ध स्थापित हुन्छ । हाम्रो छिमेक पहिलो प्राथमिकता हो ।’ उहाँले छिमेकपछि नेपालको प्राथमिकतामा रहेका मुलुकहरु अमेरिका, युरोपेली युनियन, जापान र अन्य विकास साझेदार हुन् ।

‘नेपालको राष्ट्रिय हित लागि छिमेकसहित सबै मुलुकसँग राम्रो सम्बन्ध राख्नुमा छ । कुनै स्थायी शत्रु र मित्र छैनन्, खाली स्थायी राष्ट्रिय हित मात्र रहेको छ ।’ प्रधानमन्त्री देउवाले भारत र चीन दुवैसँग सांस्कृतिक सम्बन्ध रहेको पनि उल्लेख गर्नुभयो । विश्लेषकहरुले पनि नयाँ सरकारको मुख्य चुनौती अमेरिका, चीन र भारतसँग सन्तुलित सम्बन्ध निर्माण गरेर अगाडि जानु रहेको बताएका छन् ।