काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिनुभएको छ । अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित उपाध्यक्ष रावलले आज सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा आफुले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।


तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ गते प्रतिनिधिसभा विघटनको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गर्नुभएको थियो । प्रतिनिधिसभा विघटन विरुद्ध एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका भीमबहादुर रावलसहित एमालेका २६ सांसदले गठबन्धनमा संलग्न भै हस्ताक्षर गरेका थिए ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दै एक सय ४६ जना सांसदहरुले दस्तखत गरी सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । जसमा एमालेका उपाध्यक्ष एवम् सांसद् भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए । सर्वोच्च अदालतको फैसला पछि संसद पुनस्र्थापना भएपछि सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन आज एमाले उपाध्यक्ष रावलले राजीनामाको घोषण गरेका हुन् ।

उपाध्यक्ष रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए । ‘‘तसर्थ देश र जनविरोधी राजनीतिको मतियार हुनुभन्दा त्यस दूषित खेलबाट आफूलाई अलग गर्दछु’ भन्दै रावलले सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए ।