काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया देउवा सरकारले रद्द गरेको छ । प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि एमाले नेतृत्वको सरकारले गरेका नियुक्ति बदर गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतमा सिफारिस ११ जनाको नियुक्ति प्रक्रिया रद्द गरेको हो । निवर्तमान प्रधानमन्त्री ओलीले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलङ्काका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

एक मन्त्रीका अनुसार अघिल्लो सरकारले नियुक्ति प्रक्रियामा अगाडि बढाउन राजदूतको एग्रिमोका लागि पत्राचार समेत गरिसकेको थियो । राजदूत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयपछि प्रधानमन्त्री देउवाले अघिल्लो सरकारले गरेका निर्णय उल्टाउने प्रयास अन्तर्गत पहिलो घटना मानिएको छ ।