काठमाडौं – गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले आज चार बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने हुनुभएको छ । देउवा सर्वोच्च अदालतको परमादेश अनुसार असार २९ गते गठबन्धन दलहरुको तर्फबाट प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । प्रधानमन्त्री देउवाले गणितीय आधारमा विश्वासको मत पाउने पक्का भएपछि आजै विश्वासको मत लिने हुनुभएको हो ।

नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक पुष्पा भूषालका अनुसार आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुनेछ । देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित राष्ट्रपति कार्यालयमा १४९ जना सांसदले हस्ताक्षर पेश गर्दा पनि तात्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिले कोर्टे फेरेको थियो । प्रतिनिधिसभा विघटन र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न १४६ जना सांसदहरुको हस्ताक्षर सहित सर्वाेच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमाथिको बहस सकिए पछि असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना र शेरबहादुर देउवालाई २४ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई पत्र पठाएको थियो । सोही आदेश अनुसार देउवाले असार २९ गते मङ्गलबार प्रधानमन्त्रीको पद र गोपनियताको शपथ लिनुभएको थियो ।

संवैधानिक व्यवस्था अनुसार देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनेका देउवालाई विश्वासको मतका लागि १३६ सांसदको समर्थन आवश्यक पर्दछ । एमालेको माधवकुमार नेपाल समूह बाहेक देउवासँग काङ्ग्रेसका ६१, माओवादीका सभामुख बाहेक ४८, जसपाका १२ र जनमोर्चाका १ गरी १२२ जना सांसदको साथ छ । हिजो मात्रै जसपा ठाकुर समूहबाट उपेन्द्र यादव समूहमा ६ जना सांसद फर्किएको दाबी गरिएको छ ।

बाँकी नपुग सङ्ख्यामा धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि सांसदहरु स्वतन्त्र हुने भएकाले दलीय ह्वीप नलाग्ने व्याख्या सर्वाेच्चले गरिसकेले एमाले असन्तुष्ट माधवकुमार नेपाल समूहले साथ दिने भएपछि देउवाले आजै विश्वासको मत लिने निर्णय भएको हो । मतदानकै आधारमा सांसदहरुलाई कारबाही गर्न नमिल्ने पनि सर्वाेच्चको फैसलामा उल्लेख छ । प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिएपछि देउवा नेतृत्वको सरकारले डेढ वर्ष सरकार चलाउने र यही सरकारले सबै तहको निर्वाचन गराउने छ ।

यति प्रधानमन्त्री देउवाले आज विश्वासको मत प्राप्त गर्नु नसकेको खण्डमा संसद् विघटन गरी चुनावको मिति घोषणा गर्नुपर्ने हुन्छ । देउवा नेतृत्वको सरकारले ६ महिना भित्रमा प्रतिनिधिसभाको निर्वाचन गराउनु पर्ने हुन्छ । विश्वासको मत पाउन नसकेमा देउवा सरकार चुनावी सरकारमा रुपान्तरण हुनेछ । आज ४ बजे बस्ने पहिलो बैठकमा संसद अधिवेशन सम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइने छ । त्यसपछि दलका तर्फबाट नेताहरुले बोल्न चाहेमा सभामुख अग्निप्रसाद सापकोटाले शीर्ष नेताहरुलाई समय दिनु हुनेछ । त्यसपछि पहिलो बैठकको समाप्त भए पछि प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुने र सोही बैठकमा देउवाले विश्वासको मत लिनु हुनेछ ।