बागलुङ – अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूणहत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भु्रण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
“शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरीचौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भु्रण राखेर गाडेको अवस्थामा थियो,” हवारीले भने, “स्थानीयवासीकै आशङ्काको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ ।” ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् ।
केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए । भु्रणहत्या गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राति नै सदरमुकाम ल्याएको छ । आज बिहान उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताउनुभयो । उनले कसको गर्भपतन गराइन् भन्ने विषय खुलेको छैन । –रासस