काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतले जनाएको छ । कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव दर्ता गराउनुभएको हो ।

यतिबेला कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठकमा देउवाले सभामा विश्वासको मत लिने कार्यसूची थप गर्ने तयारी छ । देउवाले आजै विश्वासको मत लिने निश्चित भएको स्रोतको भनाइ छ । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवाले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिएर उहाँले सरकारको सुरक्षा गर्न खोज्नुभएको छ । प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसदको समर्थन चाहिने हुन्छ । यतिबेला देउवाको पक्षमा काङ्ग्रेस, माओवादी, उपेन्द्र यादव पक्ष जनता समाजवादी र जनमोर्चाको तर्फबाट स्पष्ट १ सय २८ सांसद छन् । एमालेको नेपाल समूहका ८ सांसदले मत दिएमा देउवाले विश्वासको मत पाउने सुनिश्चित छ ।