काठमाडौं– सर्वोच्च अदालतको फैसलाबाट दोस्रो पटक पुनस्र्थापना भएको सङ्घीय संसदको बैठक आज आइतबार बस्नेभएको छ । पुनर्स्थापित भएको प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । आठौँ अधिवेशनको पहिलो बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
आजबाट सुरुहुने प्रतिनिधिसभाको बैठकमा सत्ताबाट बहिर्गमन भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिपक्षमा बस्नेछ । करिब ४२ महिना सत्तामा बसेको एमाले आफ्नै कारणले प्रतिपक्षी बेञ्चमा पुगेको हो । प्रतिनिधिसभाका सदस्य एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि एमाले अध्यक्ष केपी ओलीको सत्ता बहिर्गमन र सभापति देउवाको सत्तामा आगमन भएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै एमाले प्रमुख प्रतिपक्षी दल बनेको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभालाई असार २८ गते पुनस्र्थापित गर्न परमादेश जारी गरेपछि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको हो । अदालतको आदेश अनुसार संसदको बैठक बस्न लागेको हो । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक व्यवस्था अनुसार ३० दिन भित्र संसदको यहि अधिवेशनबाट विश्वासको मत लिनु पर्ने छ । विश्वासको मत नपाएको अवस्थामा संसद् विघटन भै देश चुनावमा जानु पर्ने हुन्छ ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिन सफल हुनुभएमा प्रतिनिधिसभाको करिब डेढ वर्र्षको बाँकी कार्यकाल सत्तामा रहनु हुनेछ । संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचिअनुसार आइतबारको पहिलो बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकलाई प्रक्रियामा लगिने छ । तत्कालीत प्रधानमन्त्री ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । त्यसमा बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेश हुने बताउनु भएको थियो । बैठकको कार्यसूचि तय गर्नका लागि आजै बिहान १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।