काठमाडौं– एमाले संस्थापन पक्षले एकलौटी रुपमा बैठक बोलाउँदै धमाधम निर्ण गर्दै गएको छ । अध्यक्ष ओलीले नेपाल पक्षलाई पेल्दै जाने रणनीति लिएको देखिन्छ । विघटित कार्यदलका माधवकुमार नेपाल पक्षका सदस्यहरुले पार्टी एकताको छलफलका लागि तत्काल माहोल अनकूल नभएकाले केहीदिन बैठक स्थगित गर्न गरेको आग्रहलाई अध्यक्ष केपी शर्मा ओलीले वास्तै नगरी भोली आइतबारका लागि स्थायी कमिटीको बैठक बस्ने र त्यसपछि केन्द्रीय समितिको बैठक डाकिने भएको छ ।


ओली पक्षले नेपाल पक्षलाई पेलेरै जाने नीति लिएको देखिन्छ । ओली अघिअघि नेपाल पक्ष पछिपछि लागेको छ । यस्तो अवस्थामा दोस्रो तहका नेताहरु छलफल र वार्ताबाट समस्या टुङ्ग्याउन सेतुको काम गर्न सकिन्छ कि भनेर लागेको प्रयास ओलीको बाल हठका कारण पार्टी एकतामा समस्या देखिएको छ । शनिबार बिहान दुवै पक्षका कार्यदलका पूर्वसदस्यहरुबीच पार्टी एकताका लागि प्रयासमा रहेकाले पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठक स्थगित गरेर एकताको वातावारण बनाउन आग्रह गर्दा पनि त्यसको कुनै सुनुवाइ हुन सकेन ।

पार्टी फुटेफुटोस् र पार्टी फुटको दोष नेपाल पक्षलाई जाओस् भन्ने एमाले संस्थापन पक्षको सोचाइ छ । यता माधव पक्ष पनि पार्टी फुटको दोष संस्थापक्षमै जाओस भन्ने चाहेको छ । त्यसैले एमालेका यी दुवै पक्ष न जुट्न सक्ने अवस्था छ, न त फुट्न सक्ने अवस्था नै । अध्यक्ष ओली यथास्थितिमा नेपाल पक्ष पार्टी कमिटीका बैठकमा आउन भन्नेमा छ भने नेपाल पक्ष सबै विवाद एकैसाथ किनारा लगाएर मिलेर अगाडि बढौं भन्नेमा छ । यथास्थितिमा यी दुवै पक्षको एकतालागि भ्याकुताको धार्नी कहिले पुग्ने हो अन्योलपूर्ण नै छ ।

नेपाल पक्षलाई पार्टी फुटाउन केन्द्रीय कमिटी र प्रतिनिधिसभाका सांसद् सदस्य अपुग भएकै कारण पार्टी फोड्न सक्ने अवस्था छैन । अध्यक्ष ओलीले पार्टी कमिटीहरु धमाधम गठन गर्दै आफुलाई बलियो बनाउँदै लगेको अवस्था छ । यस्तो अवस्थामा नेपाल पक्ष पार्टीका बैठकमा लुरुलुरु जाने कि के गर्नेमा दोधारमा छ । नेपाल पक्षका दोस्रो तहका नेताहरु यथास्थितिमै संस्थापन पक्षमा जान खुट्टा उचालिसकेको भेउ पाएर नै ओलीले पार्टीलाई एकलौटी रुपमा लिएर अघि बढेका छन् । ओली निकट कतिपय नेताहरु मिलेर जानुपर्ने पक्षमा रहेपछि अध्यक्ष ओलीसँग चुइक्क बोल्न सक्ने अवस्था नरहेको र भनेपनि अध्यक्षले वास्तै नगर्ने ओली निकट एक सदस्यले बताएका छन् ।

एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार भोली ३ गते आइतबार पनि एमाले संस्थापन पक्षको स्थायी कमिटीको र ४ गते केन्द्रीय कमिटीको बैठक बस्ने तय भैसकेको छ । आइतबार ११ बजेका लागि ललितपुरको बालकुमारीस्थित तुलसी स्मृति प्रतिष्ठानमा स्थायी कमिटीको बैठक बस्ने जानकारी सबै स्थायी कमिटी सदस्यहरुलाई सूचना पठाइसकिएको छ । त्यस्तै ४ गते सोमबारका लागि केन्द्रीय कमिटी बैठकसमेत बोलाएको कार्यालयका सचिव तामाङ बताएका छन् । ओली पक्षले त्यसलाई १४ औं केन्द्रीय कमिटी बैठक भनेको छ । यी घटनाक्रमलाई हेर्दा एमाले अध्यक्ष पार्टी भित्रका असन्तुष्ट पक्षलाई मिलाएर जानेभन्दा एकलौटी रुपमै पेलेर जाने मुडमा रहेको बुझिन्छ । नेतृत्वले सबै पक्षलाई समेटेर जानु पर्नेमा आफ्नो गुटलाई मात्र च्यापेर हिंड्दा अल्पकालिन रुपमा केही सफलता त मिल्ला, तर यसले दीर्घकालिन रुपमा पार्टीलाई संगठित बनाएर लान सक्ने अवस्था देखिंदैन । एमाले पार्टी संगठनमा धमिराले गुँड बनाइ सकेको छ ।