काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट दरबारको बालकुनीबाट वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भन्दै अब पार्टीमा कुनै स्थान नहुने बताउनु भएको तीन दिन पनि नबित्दै दुवै नेतालाई मिलाएर पार्टीलाई फुटबाट जोगाउन दोस्रो तहका नेताहरु पुनः सक्रिय हुन थालेका छन् ।

कुनै विचार सिद्धान्तमा मतमतान्दर नभै केवल अध्यक्ष ओलीको मिचाहा र हेपाहा प्रवृत्तिले विच्किएको नेपाल समूह अब पार्टीमा सहजरुपमा बस्ने र अड्ने ठाउँभने देखिंदैन । जबसम्म अध्यक्ष ओलीमा देखिएको दम्भ, अहङ्कार, असहिष्णुताको व्यवहारमा परिर्वतन आउँदैन तबसम्म दुवै शीर्ष नेताहरुबीचको भेटघाट र छलफलले मात्र अब एमाले पूर्ववत एमाले बन्न सक्ने अवस्था छैन । पार्टी मिलाउनका लागि दोस्रो तहका नेताहरुको सक्रियता आफैंमा सकारात्मत छ नै तर दोस्रो तहका नेताहरुबीच जतिसुकै राम्रा बुँदा बनाएर सहमति गरेपछि त्यसको कुनै अर्थ रहने देखिंदैन ।

एमाले भित्रको अहिलेको मुख्य समस्या भनेकै मूल नेतृत्वको कार्यशैली हो । जबसम्म पार्टी नेतृत्वले आफुलाई सुधार्न चाहँदैनन् तबसम्म एकताका कुरा अलापेरमात्र पार्टी एकता हुनसक्ने कुरा होइन । अब एमालेलाई एकठिक्का बनाउने हो भने पहिलो, स्थानीय तहका सांगठनिक संरचनादेखि माथिल्लो तहसम्म पुरानै अवस्थाको संरचनामा फर्किनु पर्ने हुन्छ । दोस्रो भनेको केपी ओलीले पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्ने हुन्छ । तेस्रो भनेको माधवकुमार नेपालले संस्थापन पक्षसँग कुनै न कुनै बहानमा आत्मसमर्पण गर्नु पर्ने हुन्छ । चौंथोमा, पार्टीको नेतृत्व दोस्रो तहका नेतामा हस्तान्तरण गर्नुपर्ने हुन्छ । अध्यक्ष ओलीको प्रवृत्तिले यी कुनैपनि कुरामा सहमति निस्कन सक्ने सम्भावना ज्यादै न्यून छ ।

दोस्रो तहका नेताहरुको सक्रियता परोक्ष रुपमा अध्यक्ष ओलीकै निर्देशनमा भएको हो फेरी । किनकी ओली सम्झौता गरेर नेपाल पक्षलाई पार्टीमा ल्याउने र काङ्ग्रेस, माओवादी केन्द्रको गठबन्धनबाट छुटाएर अझै कमजोर बनाउने रणनीतिमा रहेको बुझिन्छ । प्रतिनिधिसभाबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने अवस्थासम्म नेपाल समूहलाई पुर्याउने र देशमा राजनीतिक भ्याकुम सिर्जना गर्ने ओलीको दीर्घकालीन रणनीति हुनसक्छ ।

ओली पक्षका दोस्रो तहका नेताहरु नेपालपक्षका दोस्रो तहका नेतालाई फकाएर वरिष्ठ नेता नेपाललाई कमजोर बनाउन मरिमेटेर लागेका छन् । ओलीपक्षका नेताहरु जति त्यो खेमाको पक्षमा अडान लिन सक्छन् नेपाल पक्षका नेताहरु पछिल्लो समयमा धेरै लरबराइ सकेको देखिन्छ । त्यसैको सेरोफेरोमा अहिले पार्टी एकताको नाममा पुनः दोस्रो तहका नेताहरुको भेटघाट र छलफलको सक्रियता बढ्न थालेको छ ।

आजमात्र दुवै पक्षका दोस्रो तहका नेताहरुबीच सिंहदरबारमा भेटघाट र छलफल भैरहेको छ । प्रतिनिधिसभालाई जिवित राख्न गठनबन्धनको सरकारलाई साथ दिने कि पार्टी बचाउने भन्ने दोधारमा रहेका नेपाल पक्षका नेताहरुले फेरि ओलीपक्षका नेताहरुसँगको सम्पर्कमा पुगेका छन् । हिजो शुक्रबार ललितपुरको बालकुमारीस्थित पुष्पलाल स्मृति भवनमा बसेको ओली पक्षको स्थायी कमिटीको बैठक रोक्न याचना गर्न पुगेका नेताहरुलाई भेटै नदिइ निरास बनाएर फर्र्काएका अध्यक्ष ओलीले फेरी वार्तालाई अघिबढान आफ्ना विश्वासपात्रहरुलाई ‘मोबिलाइज’ गर्नुभएको छ ।

शुक्रबार ओलीको अध्यक्षता बसेको स्थायी कमिटी बैठकले एमाले विवाद समाधान सम्बन्धी कार्यदलको १० बुँदे सहमति प्रस्ताव अनुमोदन गर्दै कार्यदल समेत भङ्ग गरेको थियो । हिजो भएको स्थायी कमिटी र संसदीय दलको बैठकमा माधव पक्षका नेताहरुको उपस्थिति रहेन । हिजो निराश बनाएर फर्काइएका नेताहरु पुनः आज वार्तामा बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत नलिंदासम्म एमालेको राजनीति यही किसिमले अगाडि बढ्ने निश्चित छ ।
एमाले अध्यक्ष ओली जसरी पनि नेपाल पक्षलाई प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिनबाट रोक्न चाहन्छ । यो मिसनमा ओली सफल भएमा निर्वाचनमा जाने निश्चित त छ नै, वरिष्ठ नेता नेपालको राजनीतिक भविष्यमाथि पनि प्रश्न चिन्ह खडा हुने अवस्था आउन सक्दछ । ओली पक्षका नेताहरुको पुनः सक्रिया भनेको माधवकुमार नेपाल समूहलाई गठबन्धनबाट अगल गराएर सरकारलाई विश्वासको मत नदिने अवस्थामा पुगिन्जेलको लागि मात्र एकताको प्रयास हुनेछ ।