काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशैभरीको मौसम बदली भै धेरै स्थानमा सामान्यदेखि अधिक वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव अहिले देशभर फैलिएको छ । तर गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव धेरै हुनेभएकोले धेरै स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको भनाइ छ। त्यसैगरी आज बिहानदेखि नै प्रदेश एक र दुईका साथै बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा पानी परिहरेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद्का अनुसार आज शनिबार दिउँसो देशैभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं. एक र दुई, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । शनिबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा पर्ने पानीका कारण बाढी पहिरो आउन सक्ने साना ठूला नदीनालाहरुमा पानीको बहाव समेत बढ्न जाने हुँदा सजग रहनुका साथै सडक यातायातमा समेत प्रतिकुल प्रभाव पर्नसक्ने हुँचा आवश्यक सतर्कता अपनाउन समेत महाशाखाका मौसमविद्ले अनुरोध गरेका छन् ।