काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ । स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्ति जारी गर्दै मौजुदा खोप सकिएको भन्दै साउन ४ गतेको लागि लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरेको जानकारी दिनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान मिति २०७८/०३/२९ गतेदेखि मिति २०७८/०४/०२ गतेसम्म सञ्चालन गर्ने भनिएकोमा स्वास्थ्य कार्यालय, काठमाडौंमा हाल मौजुदा रहेको भेरोसेल खोपको मौज्दात समाप्त भएको हुँदा अब अर्को सूचना नभएसम्मको लागि मिति २०७८/०४/०२ गतेको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौं जिल्लामा स्थगन गरिएको व्यहोरा सबैको जानकारीको लागि हार्दिक अनुरोध गर्दछु ।’