काठमाडौं – सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अनिश्चित बनेको छ । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारणा देखाउँदै नयाँ आवेदनसहित परीक्षा बन्द गरेको थियो । यातायात व्यवस्था विभागका अनुसार त्यतिबेलासम्म परीक्षामा सहभागी हुन साढे ४ लाखसम्म आवेदन परिसकेको थियो । तर, बन्द भएको लाइसेन्सको आवेदन दिने अनलाइन प्रणाली अहिलेसम्म खुलेको छैन । यसले गर्दा आवेदन दिएका मात्रै हैन, आवेदन दिन प्रतिक्षा गरिरहेका सेवाग्राही मर्कामा परेका छन् ।

देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम खुल्ने प्रतिक्षा गरिरहेका छन् । तर, प्रदेशहरुले लाइसेन्सको परीक्षा खुलाउन चासो दिएका छैनन् । २०७६ चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रको आवेदन लिने काम स्थगित गरेको थियो । कोभिड–१९ बाट सुरक्षित हुँदै २०७७ असारदेखि कार्यालय खुलेपनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो । कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो ।

गत पुससम्म अनुमतिपत्र बन्द गरेर बल्ल खुलेकाले प्रणालीमा चाप उच्च थियो । त्यतिबेला अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै दिँदा अनलाइन सिस्टम डाउन भएर धेरै सेवाग्राहीले फारम भर्न सकेका थिएनन् । सरकारले ‘भिजिट मिति’ दिने गरी जति पनि फारम भर्न सकिने व्यवस्था गरेपछि आवेदनको चाङ लाग्न थालेको थियो । त्यही अवस्थामा फेरि महामारीको कारण अनलाइन फारम भर्न बन्द गरिएको थियो ।ल संविधानअनुसार यातायातसम्बन्धी जिम्मेवारी संघ र प्रदेशमा बाँडिएपछि कार्यालयहरु नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । अहिले विभागले चालक अनुमतिपत्रको सर्भरको काम र छपाइको काम गरिरहेको छ ।