काठमाडौ– प्रतिनितिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज ललितपुरको बालकुमारीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो । आज भएको बैठक वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुको उपस्थिति रहेन । एमाले अध्यक्ष ओलीले देउवा सरकारलाई समर्थन पनि नगर्ने र विश्वासको मत पनि नदिने प्रस्ताव पेश गर्नुभएको थियो । ओलीको उक्त प्रस्तावलाई बैठकले स्वीकार गर्दै प्रतिनिधिसभामा सशक्त प्रतिपक्षको भूमिका खेल्ने समेत निर्णय गरेको छ ।

स्थायी कमिटीका सदस्य एवम् पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले देउवा सरकारलाई विश्वासको मत दिने विषयमा सोच्न नसकिने भन्दै आफुहरुले विश्वासको मत नदिने निर्णय गरेको जानकारी गराउनु भएको छ । प्रवक्ता ज्ञवालीले ‘हामी सशक्त प्रतिपक्षको भूमिका बस्छौं । विश्वासको मत नदिने निर्णय गरेका छौं’ भन्नुभयो । सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिंदै नेता ज्ञवालीले ‘एमालेले विश्वासको मत दिंदैन । कसैले दिन्छ भने त्यो उसको व्यक्तिगत कुरा हुन्छ । पार्टीको सवाल भएन ।’ प्रवक्ता ज्ञवालीले एमालेकै असन्तुष्ट पक्षका बारेमा भने कुनै प्रतिक्रिया दिन चाहनु भएन ।