फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । पार्टीको आसन्न महाधिवेशदेखि पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको विषयमा छलफल गर्ने विषयमा पदाधिकारी बैठक केन्द्रीत हुने छ । काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेका अनुसार बैठक आज शुक्रबार दिउँसो २ बजे बस्ने छ । पार्टी सभापति देउवाले प्रधानमन्त्री भएपछि काँग्रेसबाट आफू निकट बालकृष्ण खाँणलाई गृहमन्त्री र ज्ञानेन्द्र कार्कीलाई कानुनमन्त्रीमा नियुक्त गरिसक्नु भएको छ । चौधौं महाधिवेशलाई लक्षित गर्दै सभापति देउवाले पार्टीभित्र सन्तुलन मिलाएर बाँकी मन्त्री टुङ्ग्याउनु पर्ने बढि दवाव छ ।

त्यसोत सभापति देउवा गठबन्धको नेतृत्व गर्दै प्रधानमन्त्री बन्नु भएको हो । उहाँले गठबन्धनका सबै दललाई मिलाएर लैजानु पर्ने भएकोले मन्त्री छनोट गर्दा पार्टी भित्र र गठबन्धनको चाहनालाई पनि सम्बोधन गर्नुपर्ने छ । सभापति देउवा चुनौतीपूर्ण समयमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँलाई गठबन्धनको सरकारदेखि पार्टी भित्र उठेका समस्यालाई सम्बोधन गर्न निकै चुनौती रहेको छ ।

आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुने पार्टीको आसन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादले सरकारका काम गर्न प्रधानमन्त्रीलाई बाधा पुग्न सक्नेछ । क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न गठित छानबिन समितिले असार समान्तसम्म काम सक्ने भने पनि अझै केही काम बाँकी नै रहेकोले त्यसलाई तत्काल निरुपण गर्नु पर्नेछ । ती समस्या तत्काल निरुपण हुन नसके साउन १२ गतेदेखि सुरु हुने वडा अधिवेशनमा प्रत्यक्ष प्रभाव पर्न जाने देखिएको छ । त्यसैले भदौं १६–१९ का लागि निर्धारित महाधिवेशनको मितिबाहेक अन्य कार्यतालिका पुनः संशोधन गर्नु पर्ने भएकाले आज बस्ने काङ्ग्रेस पदाधिकारी बैठकले यसका लागि केही निर्णय गर्न सक्ने छ ।