काठमाडौं – नेपाली धार्मिक परम्परा अनुसार आजदेखि चाडबाड सुरु हुने दिन, साउनको पहिलो दिन अर्थात साउने सङ्क्रान्ति, सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन । आजैबाट सूर्य विस्तारै दक्षिणायन दिशातर्फ सर्न शुरु हुने दिन पनि भनिन्छ । साउने सङ्क्रान्तिलाई त्यसैले विशेष गरी मनाउने चलन चलिआएको छ । आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने परम्परा छ । विशेष गरी नेपाली धर्म संस्कृति परम्पराअनुसार साउनु १ गते अर्थात् साउने सङ्क्रान्तिदेखि चाडपर्वको सुरु हुने र माघ १ गते माघेसङ्क्रान्ति पछि चाडपर्वहरु सकिन्छन् । साउने सङ्क्रान्तिदेखि सूर्य नारायण दक्षिणतिर र माघे सङ्क्रान्तिदेखि उत्तरायण हुने शास्त्रीय र विज्ञानले पनि भनेको छ ।


साउने सङ्क्रान्तिको आजको दिन विशेषगरी गाउँघरमा लुतो फाल्ने दिन भन्ने चलन पनि छ । तर यसको आफ्नै विशेष महत्व रही आएको छ । नेपाली समुदायले माने छरेर मुरी उब्जाउने यो समयमा खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि पेशा सक्रिय हुन्छन् । खेती किसानीको लागि अत्यन्त व्यस्त हुने समय हो यो । हिलोमा काम गर्नुपर्ने भउकाले छालामा रोग लाग्ने र त्यो सन्चो होस् भनेर आजको दिनमा गाउँ घरमा चलन परम्परादेखि चलिआएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउनुहुन्छ ।


परम्पराअनुसार लुतेझार, कागभलायो, अम्बा, नासपाती कागती, पानीअमला, कुकरडाइनो जस्ता प्राकृतिक औषधीजन्य जडिबुटीको प्रयोग गरिन्छ । यस्ताखालका वनस्पतीय जडिबुटी राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बलेको अगुल्टो फाल्ने र आँगन कटाउने चलन छ । यसलाई नै लुतो फाल्ने भनिन्छ । यसरी लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा रहिआएको छ । तर पहिले पहिलेको जस्तो छैन । अहिले यो चलन लोप हुने अवस्थामा पुग्न थालेको छ ।


साउनको महिना विशेषगरी नारीहरुको लागि महत्व मानिन्छ । हरियो, पोते, मेहन्दी, चुरालगायत हरियो कपडा लगाएर भगवान् शिवको पूजा गर्ने चलन छ । साउन महिना शिव भगवानको पृय महिना पनि हो र सोमबार शिवजीको पृय बार पनि हो भन्ने गरिन्छ । विवाहित नारीहरु श्रीमान् र सन्तानको दीर्घायु र अविवाहित नारीहरु राम्रो योग्य र असल बर पाइयोस् भनेर पनि साउनको हरेक सोमबार ब्रत बस्ने चलन पनि रहिआएको छ । त्यसैले साउन महिनाको प्रत्येक सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।


गत वर्षदेखि देश कोरोना भाइरसको महामारीको चपेटामा परेकोले नेपाली धर्म, संस्कृति, परम्परा र आस्थासँग जोडिएका चाडपर्व मनाउन पाएका छैनन् । यो वर्षपनि यतिबेला कोरोना महामारी कै सन्त्रासले नेपाली समाजलाई गाँजेको छ । जसले आफ्ना धर्म संस्कृत परम्परागत चाडपर्व घरको सीमित घेरामै बसेर मनाउनु पर्ने अवस्था छ । सरकारले कुनै मठमन्दिर, धार्मिक स्थलमा जम्मा नहुन र नजान निषेध गरेको छ ।
यसै सिलसिलामा आज कर्णाली प्रदेशले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सबै जिल्लामा विदा दिएको छ । कर्णालीमा प्रचलित देउडा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै यसको महत्वलाई स्थापित गन प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश सरकारले विशेष महत्वका साथ साउने संक्रान्तिका अवसरमा विदा दिंदै आएको छ । सङ्घीय सरकारले दिएका बिदाको अतिरिक्त कर्णाली प्रदेश सरकारले यस क्षेत्रको धर्म, संस्कृति र परम्परालाई अक्षुण राख्न वर्षमा छ दिन धेरै बिदा दिने निर्णय समेत गरेको छ ।