काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाउनुभएको हो । एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्ने भएको छ ।

सर्वोच्चको परमादेशसँगै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट बाहिरिएपछि पहिलो पटक स्थायी कमिटीको बैठक बस्न लागेको हो । तामाङले माधव नेपाल पक्षलाई पनि बैठकमा बोलाइएको जानकारी दिनुभएको छ ।

आज बस्ने स्थायी कमिटीको बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, कार्यदलले गरेको १० बुँदे सहमतिको अनुमोदन, पार्टीको आन्तरिक विवाद तथा केन्द्रीय कमिटीको बैठक बोलाउने र त्यसका लागि एजेन्डा तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।