काठमाडौं – आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । साउने सङ्क्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक बिदा लागू हुने गरी आज एक दिन बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिंड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न भन्दै लुतो फाल्ने प्रचलन पनि रहिआएको छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । यसलाई लुतो फाल्ने भनिन्छ । यसरी लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

महिलाले हरियो, पोते, मेहन्दी, चुरालगायत हरियो कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ । साउन महीनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिनाको प्रत्येक सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । तर यस वर्ष कोरोना भाइरसको नयाँ भेरियन्टसहितको सङ्क्रमणको जोखिमका कारण भिडभाड गर्न रोक लगाइएको छ ।