काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको थियो । छलफलमा काङ्ग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता कृष्णबहादुर महरा, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी रहनुभएको थियो ।

नेताहरुले प्रधानमन्त्री देउवालाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्ती नदोहोर्याउन सुझाव दिनुभएको छ । बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो, ‘जुन गल्ती केपी ओलीजीले गरे त्यो नदोहोरियोस् भन्ने हामी सबैको सुझाव रह्यो । ओलीजीको भन्दा राम्रो गर्नुहोला भन्यौं ।’

उहाँका अनुसार जवाफमा देउवाले आफू गठबन्धनको भावनालाई आत्मासात गर्दै सबैको सुझाव र सल्लाहमा चल्ने बताउनुभयो । अध्यक्ष यादवले भोलिबाट मन्त्रिपरिषद विस्तारबारे तयारी थालिने बताउनुभयो । यादवका अनुसार, आजको मन्त्रालयको भागबण्डा लगाउने कुरा छलफलको विषय नरहेको बताउँदै ‘मन्त्रीको भागवण्डाको विषयमा आज छलफल भएन । एक दुई दिनपछि बसेर टुङ्गो लगाउँछौं ।’