काठमाडौं – नर्भिक इन्टरनेशनल अस्पतालमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त राजेन्द्रबहादुर सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत रहँदै आउनुभएको थियो । उहाँलाई बढुवा गरी सञ्चालक समितिको अध्यक्ष बनाइएको हो ।

अध्यक्षमा नियुक्त सिंह विगत एक दशक लामो समयदेखि नर्भिक अस्पतालमा आबद्ध रहँदै आउनु भएको छ । उहाँ नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआइजीबाट अवकाशप्राप्त व्यक्ति हुनुहुन्थ्यो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई अकाडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एण्ड पोलिस म्यानेजमेन्ट विषयमा युकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गर्नुभएको छ ।

यसैगरी, नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त अजय मिश्र कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाउनु भएको व्यक्ति हुनुहुन्छ । उहाँ एक कुशल विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञ समेत हुनुहुन्छ । यसअघि युनाइटेड फाइनान्सको सिइओको रुपमा कार्यरत हुनुहुन्थ्यो । युनाइटेड फाइनान्सलाई नवील बैंकमा सफल रुपमा मर्ज गराएर एकीकृत कारोबारसँगै उहाँले करिअरको १६ वर्ष समय बिताएको बैंकिङ सेक्टरबाट अवकाशको लिनुभएको थियो ।

मिश्रसँग गोर्खा फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंक लगायतका आधा दर्जन वित्तीय संस्थामा काम गरेको अनुभव छ । बैंकिङमा आउनुअघि मिश्रले नेपाल सरकार, युएनडिपीको, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजन लगायत क्षेत्रमा कार्यरत रहेर अनुभव बटुलिसक्नुभएको थियो ।

यी संस्थाहरुमा उहाँको बैंकिङ करिअरको १६ वर्ष व्यतित भएको थियो । मिश्रले काठमाडौं युनिभर्सिटीबाट विजिनेश एडमिनिस्ट्रेसनमा एमफिल(प्राचार्य) सम्मको अध्ययन पूरा गर्नुभएको छ । नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भएपनि मुख्य लगानी भने बिएलसी होल्डिङ्सकै कायम रहनेछ ।