काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ७ सय ६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७ सय ८२ र एन्टिजेन विधिबाट ८ सय ९४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप १ हजार ७ सय ५७ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६२ हजार ५ सय ७० पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६ हजार ८ सय ६७ जना पुगेको छ । यस्तै निको हुनेको कुल संख्या ६ लाख २६ हजार ४ सय ६८ पुगेको छ भने मृतकको संख्या ९ हजार ४ सय ६३ पुगेको छ । हाल निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ३९, भक्तपुरमा ८० र ललितपुरमा १ सय ३४ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।