काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले पुनस्र्थापित प्रतिनिधिसभाको बैठक बोलाउने गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले साउन ३ गते आइतबार ४ बजेका लागि संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा विघटन विरुद्ध फैसला गरेसँगै एक साताभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो । सर्वोच्चको परमादेशअनुसार काङ्ग्रेस सभापति शेरबहादुर देउवा २९ गते प्रधानमन्त्रीमा नियुक्त भए पछि प्रतिनिधिसभाको बैठकबाट आफ्नो पक्षमा विश्वासको मत लिन असन्तुष्ट एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका उपेन्द्र यादवसँग निरन्तर छलफलमा गरिरहनु भएको छ ।
प्रतिनिधिसभा पुनस्र्थापन र काङ्ग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन भनि नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एमाले असन्तुष्ट पक्ष, जसपाको उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका गरी कुल १४९ जना सांसद्हरुले हस्ताक्षर गरी सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सोही आधारमा अदालतले परमादेश जारी गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र विघटिन संसद पुनस्र्थापनाको फैसला गरेको थियो । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।