काठमाडौं – वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एन्ड जोन्सनको खोप दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । विदेश जाने श्रमिकलाई एक डोज मात्रा लगाए हुने जोन्सन एन्ड जोन्सनको खोप दिन कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रलाई वैदेशिक रोजगार मन्त्रालयले आग्रह गरेको हो ।

कोरोनाविरुद्धको खोप नलगाई साउदी अरब, कतार लगायतका खाडी र अन्य श्रम गन्तब्य मुलुक जाने नेपाली कामदारलाई सम्बन्धित मुलुक पुगे पश्चात् अनिवार्य क्वारेन्टिन बस्नुपर्ने हुन्छ ।

कोरोना परीक्षण गर्दा पीसीआर रिर्पोट नेगेटिभ आएमा पनि थप होम क्वारेन्टिन बस्नुपर्ने जस्ता प्रावधान रहेकाले क्वारेन्टिन बस्दा एक लाख रुपैयाँसम्म कामदार तिर्न बाध्य भएको सामाजिक सुरक्षा मन्त्रालयद्धारा कोभिड — १९ सङ्कट व्यवस्थापन केन्द्रलाई लेखेको पत्रमा उल्लेख गरिएको छ । सरकारले यसअघि विदेश जाने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय गरेको थियो ।