काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना भाइरसको सङ्क्रमण विनाशकारी हुन सक्ने चेतावनी दिएको छ । कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै सङ्क्रामक मानिएको डेल्टा भेरियन्टको सङ्क्रमण बढिरहेको जस्ता कारणले मध्यपूर्वमा कोरोना सङ्क्रमण बढ्नसक्ने डब्ल्यूएचओले बताएको हो ।

निरन्तर आठ सातासम्म कोरोनाका नयाँ सङ्क्रमित र मृत्यु हुनेको संख्या घटिरहेको अवस्थामा लिबिया, इरान, इराक र ट्युनिसियामा पुनः नयाँ सङ्क्रमितको संख्या उल्लेख्य वृद्धि भएको छ । आगामी दिनमा लेबनान र मोरक्कोमा पनि कोरोना सङ्क्रमण बढ्न सक्ने आशङ्का गरिएको छ ।

आगामी साता यो क्षेत्रका मुलुकमा मुस्लिमहरुको चाड इद उल फित्र मनाइँदैछ । यो पर्वमा हुने धार्मिक तथा सामाजिक भेलाको कारण मध्यपूर्वमा कोरोना संक्रमण फैलिने जोखिम धेरै रहेको डब्ल्यूएचओले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । डब्ल्यूएचओका अनुसार यो क्षेत्रमा ट्युनिसियामा कोरोनाबाट मृत्यु हुनेको दर सबैभन्दा धेरै देखिएको छ । त्यस्तै इरानमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पछिल्लो चार सातामा दोब्बर भएको छ ।