काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो । काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार,“आजका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सरेको छ । भोलि दिउँसो २ बजे पदाधिकारी बैठक बस्ने भएको छ ।”

प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवाको व्यस्थताका कारण बैठक स्थगित भएको हो । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी थियो । काङ्ग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाइएता पनि बाँकी मन्त्रीमा क–कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ ।

मन्त्री बन्ने आकाङ्क्षीहरु धेरै भएपछि नाम टुङ्गो लगाउन देउवालाई कठिन हुने देखिएको छ । प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफलबाटै क–कसलाई मन्त्री बनाउने टुङ्गो लगाउने बचन दिनुभएको थियो । सबै पक्षलाई समेटेर मन्त्री बनाउनुपर्ने भएकाले यसमा सबैलाई चित्त बुझाएर निष्कर्षमा पुग्न उहाँलाई सहज छैन ।

यस्तै पदाधिकारी बैठकमा पार्टीको आशन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे छलफल गर्ने कार्यसूचि रहेको थियो । काङ्ग्रेसले भदौ १६–१९ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।