काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने कुनै पनि उपकरण तथा औषधि पत्ता नलागेको भन्दै भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरिएको छ । कोभिड–१९ नियन्त्रणका लागि विभिन्न उपकरण पाइने भन्दै बजारमा बिक्री भइरहेको र त्यसमा कुनै सत्यता नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।

“कोरोना नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएका विद्युतीय यन्त्रहरु नकिन्नु होला । विज्ञापन गरिएजस्तो यस्तो यन्त्रले कोभिड–१९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यविहीन छ,” स्वास्थ्य मन्त्रालय भन्छ, “अहिलेसम्म कोभिड–१९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन ।”

कोरोनाबाट बच्ने वैज्ञानिक उपाय भनेकै खोप लगाउने, मास्कको सधैं प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्ने मात्र भएको मन्त्रालयले जनाएको छ । कोरोना गार्डभन्दै विद्युतीय सामग्री बिक्री हुन थालेपछि स्वास्थ्य मन्त्रालयले बजारमा चलिरहेको हल्लाको पछाडि नलाग्न आग्रह गरेको हो ।