भक्तपुर – असंवैधानिक कदमका कीर्तिमानधारी निर्वतमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैं पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार भएको घोषणा गर्नुभएको छ । सरकारी निवास बालुवाटारबाट आफ्नै निजी निवास बालकोट पुगेर आफ्ना लावालस्कललाई सम्बोधन गर्दै नेता नेपाललाई गद्दार घोषणा गर्नु भएको हो ।
ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै अहिलेको अवस्था नेता नेपालको गद्दारीकै कारण आएको जिकिर गर्नुभयो । बालकोटमा उपस्थित आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा ‘माधवकुमार नेपाल गद्दार हुन् । उनकै कारण अहिलेको अवस्था आएको हो । नेपालको सर्वोच्च अदालतमा कहिँ नभएको जात्रा भयो । मलाई जनमतले होइन अदालतमा मुद्दा हालेर निकालियो । जालझेर गरेर निकालियो । मर्न परे पनि शानले मर्छौं’ भन्नुभएको छ ।
एमालेका अध्यक्ष ओलीले आफु सत्ताच्यूत हुनुपरेको आक्रोशमा वरिष्ठ नेता नेपाल, सर्वोच्च अदालतका साथै प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत गालिगर्न चुक्नु भएन । अध्यक्ष ओलीले ‘कोरोना भाइरस विरुद्धको खोप ल्याउने प्रक्रिया आफ्नै सरकारले गरेको र अहिले आइरहेको खोप पनि त्यहि रहेको भन्दै खोपमा जस लिन कसैले नखोज्न चेतावनी दिनुभयो ।
हुँदाखाँदाको आफ्नै पार्टीको दुई तिहाइको सरकार विघटनदेखि नेकपा विभाजनसम्मको कार्यगरेर अल्पमतमा पर्नुभएका निवर्तमान ओलीले आफुलाई सत्तामा टिकाइ राख्न असंवैधानिक कदम चाल्दै आउनु भएको थियो । दुई तिहाइको कम्युनिस्ट पार्टीको सरकारको नेतृत्व गरेर सरकारमा पुग्दा सारा जनता, पार्टी र कार्यकर्ताको मनमा राष्ट्रवादीको छवि बनाउनु भएका ओलीमा दुई वर्षको कार्यकालपछि अहङ्कार, दम्भ, असहिष्णुता र अनैतिकताको पराकाष्ठाको सीमा नाग्न थालेपछि पार्टीभित्र र बाहिरबाट समेत आलोचनाको पात्र बन्दै जानु भएको थियो । तर ओली आफुबाहेक कसैलाई पनि मान्छे नदेख्ने सत्ता उन्माद्ले दुई÷दुई पटक प्रतिनिधिसभा विघटन गर्दै अध्यादेशमार्फत् राज्य सञ्चालन गर्दै आउनु भएको थियो ।
उहाँको कार्यशैलीले तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मात्र होइन, एमाले भित्रैपनि उहाँ विरुद्ध चर्को विरोध भयो । नेकपा उहाँकै कारणले फुट्यो । एमाले पार्टी फुटको सङ्घारमा पुग्यो । पार्टी विवाद समाधान कार्यदलको नाममा दोस्रो तहका नेताहरुले दुईचिरामा देखिएको एमालेलाई जोड्ने रसायनको काम गर्ने प्रयास गरे । तर ओली हिजो सत्ताच्युत भएसँगै न्यायालयदेखि, चार दशकभन्दा बढी समय एउटै पार्टीमा काम गरेको समकालीन नेतालाई सत्तोसराप गर्न पछि पर्नु भएन ।
देशको प्रधानमन्त्री र देशकै ठूलो पार्टीको अध्यक्ष भएका व्यक्ति ओलीले आफ्नो जीवनको उत्तरार्धमा आएर यसरी राजनीति कुचरित्र प्रदर्शन गर्नुहोला भन्ने कुरा विरलैले अनुमान गरेको हुनुपर्दछ । आफ्नो कद आपैंmले घटाउँदै जानु भएका निवर्तमान प्रधानमन्त्री ओलीको अशोभनीय अभिव्यक्तिले एमाले पार्टीलाई नै आघात पुग्न सक्दछ । पार्टी अध्यक्ष र देशको कार्यकारी प्रमुख समेत भैसक्नु भएका ओलीले अभिभावकीय भूमिका निर्वाह गर्ने अवसरलाई चकनाचुर पार्नुभयो । ओलीको यस्ता रवैयाले उहाँको भावी जीवन र राजनीतिक यात्रामा गम्भीर असर पर्ने निश्चितप्रायः छ ।