सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पाचौं पटक प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन गरेका हुन् ।

नेपाल विद्यार्थी सङ्घको अगुवाइमा पाटनमा र दोगडाकेदारमा तरुण दलको अगुवाइमा दीप प्रज्वलन गरिएको हो । अदालतको फैसलाले लोकतन्त्रको रक्षा भएको भन्दै खुसीयालीमा दीप प्रज्वलन गरिएको नेपाल विद्यार्थी सङ्घ बैतडीका अध्यक्ष कपिल केसीले बताए ।

यस्तै सुदूरपश्चिमको व्यक्ति देशकै प्रधानमन्त्री भएको खुसीयालीमा आफूहरुले दीप प्रज्वलन गरेको नेपाल तरुण दलका जिल्ला अध्यक्ष घनश्याम भट्टले जानकारी दिए । सर्वोच्चको फैसलाले लोकतन्त्रको विजय भएको माओवादी केन्द्रका दोगडाकेदार गाउँपालिका अध्यक्ष मानसिंह ऐरीले बताए ।

दीप प्रज्वलन कार्यक्रममा कांग्रेसका तरुण दल, नेपाल विद्यार्थी सङ्घका साथै नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाइसिएलका पदाधिकारीको समेत सहभागिता थियो । सर्वोच्च अदालतले सोमबार संसद् पुनःस्थापना गर्ने फैसला गरेको थियो भने प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रधानमन्त्रीमा देउवासहित अन्य चार मन्त्रीले मङ्गलबार साँझ नै शपथग्रहण गरिसकेका छन् । –रासस