काठमाडौं – नवनियुक्त मन्त्रीहरुले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । हिजो मङ्गलबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएका मन्त्रीहरुले आज बुधबार मन्त्रालय पुगेर कार्यभार सम्हाल्न लाग्नुभएको हो । गृहमन्त्री बालकृष्ण खाणले बुधबार बिहान साढे १० बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

यसैगरी अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले बुधबार बिहान १० बजे मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै हुनुहुन्छ । मन्त्रालय गएर कार्याभार सम्हाल्नुअघि शर्माले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेर शहीद स्तम्भमा माल्र्यापण गर्ने उहाँको सचिवालयले जनाएको छ ।

कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मङ्गलबार साँझ नै पदभार ग्रहण गर्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको थियो । हिजो मङ्गलबार साँझ बसेको मन्त्रिपरिषदको पहिलो बैठकले चैत मसान्तभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको थियो ।