काठमाडौं – मनसुनी चक्रीय प्रणालीमा उतार चढाव देखिएकोले समग्रमा देशको आजको मौसम सामान्यदेखि पूर्ण बदली हुने र अधिकांश ठाउँमा हल्कादेखि मध्यमखाले वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकालगयत देशका विभिन्न क्षेत्रमा मनसुनी वायुको प्रभावका कारण अहिले सामान्य बदली रही केही ठाउँहरुमा हल्का पानी परिरहेको छ महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बुधबार दिउँसोदेखि देशैभरी सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा छिटफुटदेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको छ ।
प्रदेश नं १ र २ तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कतिपय क्षेत्रमा धेरै पानी पर्न सक्ने भएकाले नदी तथा खहरे खोलामा पानीको बहाव बढ्न सक्ने र पहिलो जानसक्ने हुँदा लामो दुरीमा यात्रा गर्नेहरुले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।