काठमाडौं– नेपाली काङ्ग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले अपरान्ह छ बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुहुने छ । नवनियुक्त प्रधानमन्त्री देउवाको यो पाँचौं कार्यकाल हो । एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री आफ्नै दम्भ र अहङ्कारको शिकार बन्दै सत्ताच्यूत हुँदा काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई पाँचौं पटक प्रधानमन्त्री बन्ने अवसर जुरेको हो ।


यसअघि चार पटकसम्म प्रधानमन्त्री बन्नु भएका देउवालाई सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) बमोजिम नियुक्त गर्न परमादेश जारीगरे पछि पाँचौं पटक देशको नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको लागि ढोका खुलेको हो । यसपटक संसद् विघटनविरुद्ध विपक्षी मोर्चाको नेतृत्व गरेर देउवाले लोकतन्त्र र संविधानका लागि निर्णायक भूमिका खेल्नु भएको छ । मुलुकको बागडोर सम्हाल्ने जिम्मेवारी पाउनु भएका नवनियुक्त प्रधानमन्त्री देउवाले अब आफुलाई विवादरहित छवि बनाउने स्वर्णीम अवसर पनि जुरेको छ । विगतमा प्रधानमन्त्री हुँदा देउवा विवादरहित बन्न सक्नु भएन ।


प्रधानमन्त्री देउवाले अहिले गठबन्धनलाई चित्तबुझाएर जनताको चाहनालाई सम्बोधन गर्नु मुख्य चुनौती रहेको छ । देश कोरोना भाइरसको महामारी र बाढी पहिरोको चपेटामा परेको बेला प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न लाग्नु भएका देउवाले यो अवसरलाई खेर फाल्नु भयो भने नेपाली काङ्ग्रेसको राजनीतिलाई नै रसातलमा पुग्ने अवस्था नआउला भन्न सकिन्न । पद र शक्तिमा पुगेपछि मत्ता हात्ति झै सोच्ने प्रवृत्तिले जसरी एमाले अध्यक्ष समेत रहनुभएका निवर्तमान प्रधानमन्त्री ओली कलङ्कित र अपमानित भएर सत्ताबाट बहिर्गमन हुनुभयो, त्यो अवस्था देउवाले ल्याउनु हुँदैन ।


अब नवनियुक्त प्रधानमन्त्री देउवा उमेर र राजनीति जीवनको उत्तरार्धमा पुग्नु भएको छ । आफ्ना अतितका विवादास्पत छविलाई पखालेर राजनीतिक सहिष्णुताको छवि र काङ्ग्रेसका विचारक संस्थापक नेता विश्वेश्वरप्रसाद कोइलाराको मेलमिलापको राजनीतिलाई आत्मसात् गर्नुपर्ने आवश्यक छ । प्रधानमन्त्री देउवाले जीवनको उत्तरार्धमा आएर पाउनु भएको यो महत्वपूर्ण जिम्मेवारीलाई विवादरहित बनाएर राष्ट्र, राष्ट्रियता र जनजीविकाको पक्षमा काम गर्नु पर्नेछ ।


देउवा पहिलो पटक २०५२ भदौमा प्रधानमन्त्री हुनु भएको र २०५३ फागुनसम्म पदमा रहनु भएको थियो । उहाँको यो कार्यकाल त्यति सुखद् रहेन । उहाँ पहिलो पटक प्रधानमन्त्री हुनु भएको केही महिना पछि माओवादी जनयुद्ध सुरु भएको थियो । त्यसैगरी विवादास्पद् महाकाली सन्धी, ४८ जनाको इतिहासकै ठूलो मन्त्रिपरिषद्, सांसद्हरुलाई भन्सार छुटको प्राडो–पजेरोका काण्डमा मुछिनु भएको थियो ।


त्यसैगरी देउवाको प्रधानमन्त्रीको दोस्रो कार्यकाल भनेको २०५८ साल साउनमा सुरु भयो । यो कार्यकाल २०५९ असोज करिब १४ महिनामा सहियो । उहाँको दोस्रो कार्यकालमा तात्कालीन राजा ज्ञानेन्द्रलाई सक्रिय राजनीतिमा आउने वातावरण बन्यो । यसको साथै बहुमत सांसद्को चाहना विपरित संसद् विघटन, पार्टी विभाजन जस्ता कुराले विवादमा तान्यो ।


देउवाको तेस्रो पटक २०६१ जेठमा प्रधानमन्त्री बन्न सफल हुनुभयो । तर यो कार्यकाल २०६१ माघ महिनाभन्दा पर जान सकेन । किनकी संसद्बिनाको प्रधानमन्त्री हुनुभएका देउवालाई स्थानीय चुनाव गराउन नसकेको आरोपमा तात्कालीन राजा ज्ञानेन्द्रबाट असक्षम घोषणा गर्दै प्रधानमन्त्री पदबाट अपदस्त हुनुभयो ।


चौंथो पटक २०७४ साल जेठ महिनामा प्रधानमन्त्री नियुक्त हुनुभएका शेरबहादुर देउवाको यो कार्यकाल पनि लामो हुनु सकेन । नौ महिनाको (२०७४ फागुन) कार्यकालमा उहाँले गराउनु भएको स्थानीयदेखि केन्द्रसम्मको तीनै तहको निर्वाचनमा काङ्ग्रेसको लज्जास्पद पराजय, विवादास्पद् नियुक्तिहरुलगायतका निर्णयबाट विवादरहित हुन सक्नु भएन ।


यी विगतको तिता र विवादास्पद छविलाई मेटाउन यो पाँचौं पटकको प्रधानमन्त्रीत्वकाल देउवाका लागि स्वर्णीम अवसर पनि हो । नवनियुक्त प्रधानमन्त्री देउवाले पार्टी राजनीति र स्वार्थभन्दा माथि उठेर यो अवसरलाई सहिरुपमा सदुपयोग गर्न सके देश र स्वयम उहाँको पार्टी नेपाली काङ्ग्रेसलाई पनि केही राहत पुग्ने छ । देउवा पुरानै पात्र भएकाले उहाँबाट पनि जनअपेक्षित काम हुनेमा विगतका विवादस्पद छविले विश्वास र भरोषा गर्ने ठाउँ भने दिएको छैन ।

देउवा विपक्षी गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बन्नुभएको हो । विपक्षी गठबन्धनका एक सय ४६ जना सांसदले हस्ताक्षरसहित प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्न र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका थिए । प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।