काठमाडौं– प्रधानमन्त्री पदमा आज मङ्गलबार साँझ ६ बजे शपथ लिन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका तर्फबाट पम्फा भुसाल र जनार्दन शर्मालाई मन्त्री बनाउने हुनुभएको छ । यद्यपि माओवादीले यसको आधिकारिक निर्णय गरिसकेको छैन ।

प्रधानमन्त्री पदमा नियुक्त काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल बुढानीलकण्ठ पुगेर फर्केपछि माओवादी स्थायी समिति बैठक बसेर मन्त्रीहरुको अन्तिम सूची निर्णय गर्ने बताइएको थियो । यद्यपि माओवादी स्थायी समितिको बैठक बस्न सकेको छैन । अध्यक्ष दाहाल स्थायी समिति सदस्यहरुको सम्पर्कमा नरहेको माओवादी स्रोतले जानकारी दियो ।

यद्यपि पम्फा भुसाल र जनार्दन शर्मालाई सरकारमा पठाउने तय भइसकेको माओवादी स्रोतले दाबी गरेको छ । सरकारमा पठाउने मन्त्रीहरुको अन्तिम सूची तयार गर्न स्थायी समिति बैठक बस्ने भनिएता पनि अहिलेसम्म बैठक बस्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।