काठमाडौं – नेपाल पत्रकार महासङ्घले प्रधानन्यायाधीशको पुत्ला दहनप्रति आपत्ति जनाएको छ । मंगलबार महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट भएको विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको नेपाल पत्रकार महासङ्घले स्वागत गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले सर्वोच्चको सो निर्णय संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनःस्थापित भएको महासङ्घको निष्कर्ष रहेको उल्लेख गर्नुभएको छ । उहाँले सर्वोच्चको फैसलाप्रति विरोधी पक्षले गरेको प्रहारको पत्रकार महासङ्घले भत्सर्ना गरेको उल्लेख गर्नुभएको हो । विज्ञप्तिमा महासचिव पुरीले भन्नुभएको छ–‘अदालतको फैसलापछि सम्मानित र स्वतन्त्र अदालतमाथि भएका अशोभनीय टिका टिप्पणी र प्रधानन्यायाधीशको पुत्ला दहन गर्ने कार्यको महासङ्घ भत्र्सना गर्दछ । स्वतन्त्र न्यायपालिकामाथि कुनै पनि पक्षबाट प्रहार गर्न हुँदैन भन्नेमा महासङ्घको प्रष्ट दृष्टिकोण रहँदै आएको छ ।’

उहाँले पुनःस्थापित प्रतिनिधि सभा र संसद्बाट निर्माण हुने सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्दै सञ्चार क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ भन्नेमा महासङ्घले विश्वास प्रकट गरेको बताउनुभएको छ ।