काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र संसद् सही सलामत रहनेमा आफूलाई शङ्का रहेको बताउनुभएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्ट सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन ओलीले अदालतप्रति आक्रोश पोख्नुभएको छ ।

उहाँले अदालतको यो फैसलाको असरहरु आगामी दिनमा देखिने बताउनुभयो । राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई वास्तविक अर्थमा सबल बनाउँदै जानुपर्ने बेला राजनीतिलाई विपरीत दिशामा लान खोजिएको भन्दै उहाँले, ‘बाँकी अवधि संसद् चलोस्, मेरो शुभकामना छ । समयमा निर्वाचन होस्, तर मलाई शङ्का छ भन्नुभयो ।’

‘जे जस्ता घटनाक्रम विकास हुँदैछ, यसले संसद पनि सही सलामत अगाडि जाला, अब बन्ने सरकार सही सलातम ढङ्गले अगाडि बढ्ला भन्नेमा शङ्कै छ ।’ ओलीले भन्नुभयो–‘यसले विगतमा अग्रणी भूमिका खेल्ने पात्रहरु परिचित छन् । उनीहरुको इतिहास, भूमिका देश र जनतालाई थाहा छ । मैले केही भनिरहनु पर्ला जस्तो लाग्दैन ।’