काठमाडौं– सत्ता उद्मातले कहिले सत्ताबाट बाहिरिनु नपर्ने दम्भ र अहङ्कार बोक्नु भएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली आजबाट सत्ताच्यूत हुनुभएको छ । देशमा सुशासनको प्रत्याभूति दिन असफल, राजनीतिक असहिष्णुताका पयार्यवाची बन्नु भएका ओलीले हिजो सर्वोच्च अदालतबाट भएको फैसलाप्रति तिब्र असन्तुष्टि व्यक्त गर्दै संवैधानिक इजलासद्वारा संविधानको धारा ७६ को उपधारा ५ को सम्बन्धमा गरेको व्याख्याप्रति कडा अभिव्यक्त दिनुभएको छ ।


सत्ताबाट च्युत भएसँगै निवर्तमान प्रधानमन्त्री ओलीले आज मङ्गलबार देशवासीका नाममा सम्बोधन गर्दै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउन दलीय ह्वीप नलाग्ने संवैधानिक इजलासको फैसलाप्रति तीब्र रोष प्रकट गर्नुभएको छ ।
राजनीतिक दलले व्यक्तिलाई उम्मेदवारका रुपमा मनोनयन गर्ने, दलको घोषणापत्रको आधारमा जनतामा जाने, दल चुनाव चिन्हमा मत दिएर जनताले विजयी गराउने जिकिर गर्दै एमाले अध्यक्ष समेतरहनु भएका ओलीले यसरी जितेको जनप्रतिनिधिले सरकार बनाउने बेलामा आफूखुशी भोट हाल्न पाउने व्यवस्था दलीय राजनीतिको मूल्य र मान्यताभन्दा विपरीत रहेको आरोप लगाउनु भएको छ ।

संवैधानिक इजलासको फैसलाले लोकतन्त्रका अधारस्तम्भका रुपमा रहेका राज्यका तीन अङ्गका बीचको सन्तुलन नराम्रोसँग बिथोलेको भन्दै लोकतन्त्रको मूल्यमा प्राप्त विजय क्षणभङ्गुरमात्र हुने बताउनु भएको छ । निवर्तमान प्रधानमन्त्री ओलीले २०५२ सालमा मनमोहन अधिकारीले नेतृत्व गरेको सरकार अपदस्थ भएपछि राजनीतिलाई ट्रयाकभन्दा बाहिर लगियो भने दुष्परिणाम ल्याउँछ भनेर आफूले भविष्यवाणी गरेको र अन्ततः त्यस्तै भएको पनि दावी गर्नु भएको छ ।

‘राज्यका मुख्य अङ्गहरुबीचको सन्तुलन खलबलिएर लोकतन्त्रको संरचनामै क्षति हुन्छ कि भन्ने हाम्रो चिन्ता हो, ओलीले आफ्नो सन्देशका क्रममा भन्नुभएको छ । संवैधानिक इजलासले निश्चित व्यक्तिका निश्चित आकाँक्षा परिपूर्तिका लागि यस्तो व्याख्या गरेको भन्दै एमाले अध्यक्ष ओलीले यस्तो व्याख्या र यसले सिर्जना गर्ने राजनीतिक विकृतिका सम्बन्धमा ठुलो मूल्य चुकाउनुपर्ने चेतावनीयुक्त अभिव्यक्ति चुक्नु भएन ।

राजनीतिक असहिष्णुता, दम्भ, अहङ्कारका कारण हुँदाखाँदाको दुई तिहाइको कम्युनिस्ट पार्टीको सरकार गिराउँदै, पार्टीलाई नै छिन्न भिन्न बनाएर अपमानित ढङ्गले सडकमा पुग्नु भएका ओलीको अबको राजनीतिक यात्रा भने त्यति सहज छैन । उहाँ एमाले भित्रै पनि कमजोर बन्दै जाने निश्चित छ । आफ्नो र आफ्नो गुटको स्वार्थका लागि संविधानलाई मिचेर जस्तोसुकै हर्कत् गरेको दुष्परिणाम ओलीले भोग्नु भएकोे छ । जनताको वाहिवाही बटुलेर जसरी सत्तामा पुग्नु भएको थियो, आज राजनीति र उमेरको उत्तरार्धमा आएर अपमानित ढङ्गले सत्ताच्यूत हुनु पर्ने अवस्था आफैंले निम्त्याउनु भएको हो भन्दा अत्युक्ति नहोला ।