काठमाडौं — सरकार गठन, सञ्चालन र त्यसको कार्यविधिका विषयमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । दुई शीर्ष नेतृत्वबीच सिंहदरबारमा छलफल भएको हो ।


छलफलका क्रममा देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम दिन आग्रह गर्नुको बताइएको छ । देउवा र प्रचण्डबीच सरकारमा सहभागी हुने दल, उनीहरुले पाउने मन्त्रालय लगायतका विषय टुङ्गो लागेपछि आफ्नो पार्टीबाट मन्त्रीको नाम तय गर्ने छ ।


आज बिहान बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले काङ्ग्रेस सभापति देउवासँग छलफल गरेर मात्रै पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लगाउने निर्णय गरेको थियो । नेकपा माओवादीले कुन कुन मन्त्रालय पाउने भन्ने बारेमा टुङ्गो लागेपछि मात्र सरकारमा कस–कसलाई पठाउने भन्ने पार्टीको बैठकले टुङग्याउने छ । माओवादी केन्द्रमा यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा जिम्मेवारी पाएकाहरुलाई नदोहोर्याउन नेतृत्वमाथि दवाव दिइएको छ ।


शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गरेसँगै सानो आकारको मन्त्रिपरिषद् गठन हुने छ । तर सरकारको नेतृत्व गरेको काङ्ग्रेसले पनि अहिलेसम्म कस–कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन । आज गठन हुने मन्त्रिमण्डलमा रामचन्द्र पौडेल खेमाबाट एक जना र संस्थापन खेमाबाट दुईजनालाई मन्त्री बनाउने चर्चा छ । नवनियुक्त प्रधानमन्त्री देउवाले विश्वासपात्र बालकृष्ण खाँडलाई आज मन्त्री बनाउने सम्भावना रहेको छ ।