काठमाडौं – सर्वोच्च अदालतको हिजोको फैसला अनुरुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सदस्य तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवाले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाए पनि उनकै नेतृत्वमा मुलुक चुनावमा जाने छ ।
नवनियुक्त प्रधानमन्त्री देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री बन्ने भाग्यमानी नेता हुनुभएको छ । यसअघि सोमबार सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवाले आजै शपथ ग्रहण गर्ने तयारी भैरहेको छ ।