काठमाडौं– एमालेका अध्यक्ष सत्ताबाट बहिर्गमन हुने पक्का भएपछि नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा आज नयाँ सरकार गठन हुँदै छ । सभापति देउवा गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गर्न लाग्नु भएको हो । आज गठन हुने सरकारमा नेपाली काङ्ग्रेसबाट तीन जना र नेकापा माओवादी केन्द्रबाट तीन जना सरकारमा सहभागी हुने छन् । माओवादी केन्द्रबाट सरकारमा कस–कसलाई पठाउने भन्ने विषयमा छलफल गर्न पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा स्थायी समितिको बैठक बसेको थियो । उक्त बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई नै मन्त्रीको लागि सरकारमा पठाउने नामको टुङ्गो लगाउने जिम्मा दिएको छ ।


सर्वोच्च अदालतको हिजोको फैसला पछि देशको राजनीतिले कोल्टे फेरेको हुँदा सरकार गठनलगायत देशको समसामयिक राजनीतिक परिवेशमा छलफल गर्न आज माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बैठक बसेको थियो । सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गर्ने भएकोले सरकारमा सामेल हुँदा कुन कुन मन्त्रालय आफुहरुले लिने र कस–कसललाई सरकारमा पठाउने भन्ने बारेमा विस्तृत छलफल भएको बताइएको छ । गठबन्धन सरकार सञ्चालनका विधि र प्रक्रियाबारे काँग्रेससँग थप छलफल गर्ने निर्णय समेत भएको छ ।


आजबसेको स्थायी समितिको बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतको फैसलाप्रति धन्यवाद ज्ञापन गरेको छ । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै काङ्ग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार आज साँझ पाँचबजे काङ्ग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको सपथ ग्रहण गराउने तयारी गर्नु भएको छ । प्रधानमन्त्रीमा नियुक्त भए पछि देउवाले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ ।


देउवा नेतृत्वको सरकारमा सहभागी हुने माओवादी केन्द्रले जनार्दन शर्मा, पम्फा भूषाललगायतलाई पठाउने बढी सम्भावना रहेको स्रोतको भनाई छ । भलै यसबारेमा पार्टीले आधिकारिक रुपमा ठोस निणर्य भने गरेको छैन । आज दुई बजे काङ्ग्रेस सभापति देउवासँग छलफल गरेपछि मात्रै सरकारमा कसलाई पठाउने भन्ने नामको टुङ्गो लाग्ने छ ।