काठमाडौं – प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको छ । बैठक दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा हुने नेता गोपालमान श्रेष्ठले जानकारी दिनुभएको हो । बैठकमा सरकार गठन तथा सञ्चालनबारे छलफल हुने उहाँले बताउनुभएको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार देउवाले आज मङ्गलबार बेलुका प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ । उहाँले सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी पनि गर्नुभएको छ । तर काङ्ग्रेसबाट को को मन्त्री बन्ने भन्नेबारे टुङ्गो लागेको छैन । देउवा निवासमा हुने बैठकमा यसबारे पनि छलफल हुने जनाइएको छ । अहिलेसम्म प्रकाशमान सिंह, शशाङ्क कोइराला, बिमलेन्द्र निधि, बालकृष्ण खाँडसहितले सरकारमा सहभागी हुने इच्छा व्यक्त गरेको जनाइएको छ ।

कोइरालाले आफू चिकित्सा क्षेत्रबाट आएकाले पनि स्वास्थ्य मन्त्रालय दिए सरकारमा सहभागी हुने बताएको स्रोतले जानकारी दियो । यस्तै खाँडले रक्षा तथा निधिले भौतिक पूर्वाधार मन्त्रालयमा इच्छा व्यक्त गरेको बताइएको छ । तर सरकारको प्रमुख घटकका रुपमा रहने माओवादी केन्द्र तथा बहुमतका लागि सहयोग चाहिने जसपासँगै एमालेको नेता नेपाल पक्षसँग पनि छलफल गरेपछि मात्रै सरकार र मन्त्रालयबारे टुङ्गो लाग्ने भएकाले आजै सानो आकारको मन्त्रीपरिषद् गठन हुने भएको छ ।