काठमाडौं – नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो एक बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।

बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलले बुझाएको १० बुँदे सहमति र केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल हुने बताइएको थियो । आन्तरिक किचलोमा रहेको एमालेको एकता प्रक्रियाका लागि ओली तथा नेता माधव नेपाल समूहका नेताहरु रहेको कार्यदलले सहमति गरेको छ । तर त्यसलाई लिएर विवाद सुरु भइसकेको तथा सर्वोच्चको फैसलापछिको अवस्थालाई लिएर अन्यौल सिर्जना भएका बेला बोलाइएको बैठक स्थगित भएको हो ।

प्रधानमन्त्रीका सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सर्वोच्च अदालतले संसद् विघटनको मुद्दा रद्द गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै ओली आज मङ्गलबार प्रधानमन्त्री पदबाट बिदा हुँदै हुनुहुन्छ ।