फाइल फोटो
काठमाडौं– सर्वोच्च अदालतको फैसलाले विघटित प्रतिनिधिसभाले पुनर्जीवन पाएपछि देशले आज नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीको रुपमा देख्न पाउने भएको छ । आज साँझ ५ बजे सभापति देउवाले प्रधानमन्त्रीको शपथ लिंदै हुनुहुन्छ ।
सर्वोच्च अदालतले फैसला गर्दै समय नै तोकेर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी भएको थियो । सो परमादेश अनुसार आज मङ्गलबार साँझ पाँच बजे प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ ग्रहण गराइने कार्यक्रम तय भएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्दै देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ ।

काङ्ग्रेस सभापति देउवाले संविधानको धारा ७६ (५) बमोजिम बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी गरेपनि राष्ट्रपतिले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि विवाद उत्पन्न भएको थियो । प्रतिनिधिसभा विघटन विरुद्ध र देउवाको समथर्न सहित एक सय ४६ जना सांसदहरु हस्ताक्षर लिएर सर्वोच्च अदालत पुगेर मुद्दा दायर गरेका थिए ।
आज बन्ने नयाँ मन्त्रिपरिषद् सानो आकारको हुनेछ । आज प्रधानमन्त्रीसहित नेपाली काङ्ग्रेसबाट एक जना र नेकपा माओवादी केन्द्रबाट एक जना गरी तीन जनाको मन्त्रिमण्डल गठन हुने बताइएको छ । विपक्षी गठबन्धनमा रहेका जनता समाजवादी पार्टी उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चा तत्काल सरकारमा सहभागी नहुने भएका छन् । विपक्षी गठबन्धनमा रहेका एमालेका असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल समूहले हिजोदेखि नै औपचारिक रुपमा गठबन्धनबाट बाहिरिएको र एमाले संस्थापनमा फर्किएको बताइसकेका छन् ।
शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बन्न लागेको मन्त्रिपरिषद्मा सामेल हुन नेता नेपाललाई आग्रह गर्नुभएको थियो । काङग्रेस सभापति देउवाले सबै मिलेर राष्ट्रिय सरकार बनाउन समेत आग्रह गर्नुभएको थियो ।