काठमाडौं – सरकारले आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । चीनबाट ल्याइएको भेरोसिल र अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप आजबाट लगाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई दिइने बताइएको छ । यो खोपको एक मात्र लगाए पछि अर्को मात्रा लगाउन नपर्ने भनिएको छ । यस्तै, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र छुटेका स्वास्थ्यकर्मी तथा सरसफाइको काम गर्नेहरुले पनि जोन्सन खोप लगाउन पाउने छन् । अमेरिकाले निशुल्क उपलब्ध गराएको उक्त खोप कोभ्याक्स अन्तर्गत नेपाले पाएको हो । उक्त खोप हिजो सोमबार नेपालका लागि अमेरिकी राजदूतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्त।ण गरिएको थियो । कोभ्याक्स अन्तर्गत नेपालले हिजो १५ लाख मात्रा जोन्सन खोप प्राप्त गरेको हो ।

यसैगरी चीनमा निर्मित भेरोसेल खोप सरकारले खरिद गरेर ल्याइसकेको छ । उक्त खोप ५५ वर्षमाथिका खोप लगाउन छुटेका नागरिक, विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरूलाई दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साथै उक्त खोप सार्वजनिक यातायातका चालक, सहचालक, तथा खोप अनिवार्य गरेका मुलुकमा जानेहरु र नेपाल सरकारले तोकका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै नागरिकलाई पनि आजदेखि नै खोप लगाइने मन्त्रालयले जनाएको छ । उनीहरूलाई उमेर खुल्ने परिचयपत्र, सम्बन्धित संघ संस्था, विदेश जान लागेकालाई पासपोर्ट तथा भिसाका आधारमा खोप दिइने जनाएको छ ।