काठमाडौं – सर्वोच्च अदालतको फैसला आएसँगै विपक्षी गठबन्धनको बैठक सुरुभएको छ । भोली मङ्गलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीको रुपमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेपछि कोटेश्वरमा गठबन्धनको बैठक बसेको हो । गठबन्धनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको असन्तुष्ट खेमा, जनता समाजवादी पार्टीको यादव समूह र राष्ट्रिय जनमोर्चा रहेका छन् ।


भोली शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । सोही सिलसिलामा सरकार निर्माण र विश्वासको मतका लागि विपक्षी गठबन्धनले रणनीति तय गर्नका लागि अहिले कोटेश्वरस्थित वन पैदावारको सरकारी कार्यालयमा बैठक पसिरहेको छ । बैठकमा काङ्ग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड सहभागी छन् भने माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायण काजी श्रेष्ठ, पूर्वसभामुख कृष्णबहादुर महरा, देव गुरुङ र बर्षमान पुन सहभागी भएका छन् । त्यस्तैगरी जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति रहेको छ । गठबन्धनमा एमालेको असन्तुष्ट समूहका नेता माधवकुमार नेपाल, रघुजी पन्तलगायतका नेता सहभागी हुनुहुन्छ ।


यता प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटीको बैठक पनि सोही समयमा बसिरहेको छ । उक्त बैठकमा नेपाल निकट मानिने एमाले नेता डा. भीम रावलले भने माधव नेपाल समूहलाई छोडेर स्थायी कमिटीको बैठकमा भागलिन बालुवाटार पुग्नु भएको छ । एकसाता अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेपछि नेता रावलको बोलिनै परिवर्तन हुँदै आएको थियो । प्रधानमन्त्री ओलीका कटु आलोचकका रुपमा प्रस्तुत हुने नेता रावलले यसअघिका गठबन्धनको बैठकमा भाग लिदैं आउनु भएको थियो ।


एमाले माधव नेपालको समूहमा रहेका भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकण विष्ट, योगेश भट्टराई, बेदुराम भुषाललगायतका हस्ति नेताहरुले क्याम्प परिवर्तन गरी ओलीलाई साथ दिन पुग्नु भएको छ । हिजो भएको विवाद समाधान कार्यदलले गरेको सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले तिब्र असन्तुष्टि प्रकट गर्नु भएको छ । नेपालको असहमति हुँदाहुँदै रावल नेतृत्वको कार्य दलले ओली पक्षसँग दश बुँदे सहमति गरेको थियो । नेता नेपालको तर्फबाट कार्यदलमा रहेको नेताहरु नै ओलीतिर ढल्किएर नेता नेपाललाई अन्तर्घात् गरेर हिजो दश बुँदे सहमति भएको विश्लेषण गरिन थालिएको छ ।