काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशन र सर्वोच्च अदालत आज हुने फैसला पछिको राजनीतिक विषयमा छलफल गर्न नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाउनु भएको छ ।
भोली मङ्गलबार दिउँसो पार्टी कार्यालयमा बस्ने पदाधिकारी बैठकमा पार्टीका पूर्व पदाधिकारीहरुलाई पनि आमन्त्रण गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको हो ।
कार्यालयका मुख्यसचिव पौडेलका अनुसार बैठकमा महाधिवेशनको तयारी र निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुने छ । वरिष्ठ अधिवक्ता महादेव यादव संयोजक रहेको निर्वाचन समितिले महाधिवेशनको तयारी अगाडि बढाएको छ । आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय गरीको चौधौं महाधिवेशनको कार्यतालिका समेत तय भैसकेको छ । नेता रमेश लेखक संयोजक रहेको सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता टुङ्ग्याउने काम अन्तिम चरणमा पु¥याएको पार्टी कार्यालयले जनाएको छ ।
छानबिन समितिका प्रवक्ता समेत रहेका सदस्य प्रदीप पौडेलले असार मसान्तसम्म क्रियाशील सदस्यताको काम सकिने बताउनु भएको छ । आगामी साउन १२ गतेदेखि नेपाली काङ्ग्रेसको स्थानीय अधिवेशन सुरु हुँदैछ । काङ्ग्रेसका स्थानीयदेखि केन्द्रसम्म गरी सातवटा तहगत समितिहरु छन् ।