काठमाडौं – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै रणनीति अनुरुप अघि बढ्न खोजेपछि विवाद समाधान गरी पार्टी एकता जोगाउनमा ढिलाइ भइरहेको छ । यद्यपि, दुवै नेताका तर्फबाट गठित कार्यदल भने पार्टी एकताका लागि सहमति नजिक पुगेको छ । शुक्रबार बसेको कार्यदल बैठकले धेरै विषयमा सहमति जुटाएको कार्यदलका सदस्यले बताएका छन् ।

कार्यदलले जुटाएको सहमतिलाई अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले अन्तिम रूप दिनुपर्ने भएकाले कार्यदलले खोजेको सहमति नै अन्तिम नहुने अवस्था देखिएको छ । यसैका कारण शुक्रबार कार्यदलले सहमति भएको बताए तापनि एमाले नेता कार्यकर्ताहरू विश्वस्त हुन सकेका छैनन् । कार्यदल आफंले पनि सहमति भएका विषय सार्वजनिक गर्न भने सकेनन् ।

कार्यदल सदस्य तथा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एमालेमा देखिएको सबै विवादमा समाधान खोजिएको बताउनुभयो । प्रवक्ता ज्ञवालीले भन्नुभयो, ‘लगभग सहमति भइसकेको छ, आज शनिबार एकताको घोषणा गर्नेछौं,’। कार्यदल सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले पनि एकाधबाहेक सबै विषयमा सहमति भइसकेकाले आज शनिबार एकताको घोषणा हुने बताउनुभएको छ ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल सहमत भएपछि मात्रै कार्यदलले गरेको सहमति एकता सन्देशका रूपमा सार्वजनिक गर्ने तयारी कार्यदलका सदस्यहरूले गरेका छन् । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सहमति गर्दा नेपालपक्षबाट आफू नेतृत्वको सरकारको निरन्तरतामा सहमति जनाउनुपर्ने अडानमा हुनुहुन्छ ।

प्रतिनिधिसभा विघटन भएपछि पुनस्र्थापनाको मागसहित काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान ओलीले राख्दै आउनुभएको थियो । तर, नेपाल समूहका सांसदले हस्ताक्षर फिर्ता लिन नमानेपछि सर्वोच्चको फैसलाजस्तो सुकै आए पनि त्यसलाई स्वीकार गर्दै आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाउनुपर्ने प्रतिबद्धता नेपालबाट ओलीले खोजेको एमाले स्रोतको दाबी छ ।