काठमाडौं – राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुङ्गा–सुरुङ मार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले नागढुङ्गा–सुरुङ मार्ग आयोजनाको काम समयमै सक्ने गरी गर्न र आयोजनाका अध्यावधिक प्रगति लगायत सम्पूर्ण विवरण विभागको वेबसाइटमा नियमित राख्न पनि आयोजना कार्यालयलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले सडक आयोजना तथा पुलहरुको गुणस्तरमा ध्यान दिन र यो वर्ष भत्केको पुलहरु के–कति कारणले भत्केका हुन् भन्ने विषयमा समितिलाई जानकारी गराउनका लागि सडक विभागलाई निर्देशन दिएको छ । बैठकले नागढुङ्गा सुरुङ मार्ग आयोजनाको बढी बजेट र मूल्य अभिवृद्धि कर सम्बन्धि पर्न गएको असमझदारी र सो को व्यवस्था गर्न अर्थ मन्त्रालयलाई ध्यानाकर्षण पनि गराएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरुमा काम गर्ने सम्पूर्ण मजदुरहरुलाई कोरोना विरुद्धको खोप तत्काल उपलब्ध गराउन पनि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले नागढुङ्गा सुरुङ मार्ग आयोजनाको स्थलगत अवलोकन गर्न आयोजना स्थल जाने निर्णय गरेको पनि समिति सभापति तारादेवी भट्टले जानकारी दिनुभयो ।