काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गर्नुभएको छ । संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उहाँले संविधान अनुसार आदेश गर्ने अदालतलाई प्रधामन्त्रीले संविधान विपरित भएको भनी टिप्पणी गर्नु अहंकारीपन भएको दाबी गर्नुभएको छ ।

हिजो विहिबार प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई पठाउनुभएकोे लिखित जवाफमाथि न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिदै प्रवक्ता शर्माले सर्वोच्च अदालतले गरेको आदेशलाई सत्तापक्ष, सरकार वा विपक्षी दल सबैले स्वीकार गर्नुपर्ने तर्क गर्नुभयो । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, ‘प्रधानमन्त्री जीले अदालतलाई अहिले जवाफ दिदै गर्दाखेरी अहंकारको जगमा उभिएर दिनुभयो । अदालतले चाँही संविधानको जगमा उभिएर उहाँलाई सन्देश दिएको छ । त्यसकारण संविधान, कानुन, मानवीय कोणबाट समाजलाई हेरिराखेर संवैधानिक इजलासबाट संविधानलाई पुर्नजीवन दिने फैसला आउनेछ आशा र विश्वासमा हामी छौं ।’

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रीमण्डल पुर्नगठनमा सर्वोच्च अदालतमा परेको मुद्दाको सम्बन्धमा सर्वोच्चदलाई लिखित जवाफ दिदै संर्वोच्च अदालतको आदेश संविधान विपरीत भएको बताउनुभएको थियो । सर्वोच्च अदालतलाई दिएको जवाफ जस्तै प्रधानमन्त्री ओलीका भ्रमपुर्ण र चेतावनीयुक्त विचारहरु लिखित रुपमा र मौखिक रुपमा सार्वजनिक भइरहेको उल्लेख गर्दे प्रवक्ता शर्माले न्यायलयको आदेशलाई सबैले मान्नुपर्ने तर्फ समेत गराउनुभयो ।

प्रवक्ता विश्वप्रकाश शर्माले बताए अनुसार, ‘प्रधानमन्त्रीले हिजो लिखित रुपमा सर्वोच्चलाई जवाफ दिदै गर्दाखेरी त्यो आदेशलाई चाहीँ उहाँले संविधान विपरित भन्नुभएको छ । हामीले निर्माण गरेको संविधानले कार्यपालिकाको प्रमुखलाई होइन न्यायपालिकालाई संविधानको व्याख्या गर्ने अधिकार दिएको छ र त्यो विधिलाई हामी विपक्षीले पनि स्वीकार गरेर चल्छुपर्छ र सत्ताले पनि त्यसलाई स्वीकार गरेर चल्नुपर्छ ।’

संविधानको धारा ७६ को ५ मा भएको व्यवस्था पार्टीले जोगाउन नसके सांसदले संसद जोगाउन सक्ने व्यवस्था भएको वकालत गर्दा कतिपयले नेपाली काङ्ग्रेस पार्टी निर्दलियताको अभ्यासमा जान खोजेको टिप्पणी भएको भन्दै उहाँले त्यसबारे लाञ्छित गर्ने कुरा आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले, ‘एउटा प्रक्रियामा मुलुक जाँदै गर्दा त्यसलाई निर्दलीय अभ्यासमा लान खोजियो भनेर नेपाली काङ्ग्रेस पार्टी माथि पनि आरोप लगाइयो । जबकि संविधानको धारा ७६ को ५ मा ४७ सालको संविधानमा गरिएको ३ प्रकारका सरकारहरु भन्दा चौथो प्रकारको सरकारको व्यवस्था हामीले गरेका थियौं । जसमा संसदलाई सांसदहरुले मात्रै पनि जोगाउन सक्ने । त्यसैले ७६, ५ को कार्यान्वयन गर्ने कुरामा कसैले कसैलाई आरोपित गर्ने, लाञ्छित गर्ने कुरामा हाम्रो बिमती छ भन्नुभयो ।’

राष्ट्रपतिको निर्णय अदालतले बदर गर्न मिल्दैन भन्ने भनाई बालुवाटार र शीतल निवासबाट निरन्तर सार्वजनिक भईरहेको उल्लेख गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गर्नुभयो, ‘हामीले परिकल्पना गरेको व्यवस्था के त्यस्तो व्यवस्था हो ? जहाँ संविधानको व्याख्या गर्न सर्वोच्च अदालतलाई दिइन्छ । सँगै हामीले यस्तो राष्ट्रपति बनाएका छौं जसको निर्णय अदालतमा परीक्षण हुन सक्क्तैन । उहाँको निर्णय उल्टिन सक्क्तैन । जबकी सक्रिय राजतन्त्रको कालमा राजाको निर्णयलाई पनि शाही आयोगलाई खारेज गरेर सर्वोच्च अदालतले राजाको निर्णयलाई उल्टाएको अभ्यास विगतमा हामीले ग¥यौ भने अहिले राष्ट्रपतिको निर्णय परीक्षण हुननसक्ने, बदर हुननसक्ने भन्ने चाँहि विल्कुलै हुंदैन ।’ उहाँले अदालतलाई चेतावनीयुक्त भाषा प्रयोग गरिएको देशको संविधान, कानुन र मानवीय कोणबाट देशको परिस्थितिलाई विश्लेषण गरेरै फैसला आउने विश्वास व्यक्त गर्नुभयो ।