काठमाडौं – दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिए पनि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आपत्ति प्रकट गर्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । आज माओवादी केन्द्रले एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । केही अवसरवादी, लालची र अनैतिक तत्वहरुको उक्साहटमा पार्टीलाई बदनाम गराउन यस्तो हर्कत गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दश वर्षे जनयुद्धमा सँगै होमिएका र नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित भएका नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहले आफ्नो रगत पसिना सिञ्चित गरेको पार्टी परित्याग गरी एमालेमा समाहित भएका छन् । एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतालाई अवैध भन्दै सर्वोच्च अदालतले गत फागुन २३ गते पूर्ववत एमाले र माओवादी केन्द्रमै फर्किन आदेश जारी गरेपछि दुवै पार्टी पूरानै अस्तित्वमा फर्किएका थिए ।

अहिले उनीहरु अस्तित्वको खोजिमा छन् । एमालेमा पनि संस्थापन र असन्तुष्ट पक्षबीचको द्वन्द्वले पूर्वमाओवादी नेताहरुलाई एमालेमा व्यवस्थापन गर्ने विषयमा विवाद उत्पन्न भएको छ । माओवादी केन्द्रबाट निर्वाचन जितेका ती नेताहरुलाई पार्टीले कारवाही गरेपछि उनीहरुको सांसद् पद गुमेको थियो । यही रिसको रापतापले पिल्सिएर पूर्ववत आफ्नै मातृ पार्टी अवैध रहेको जिकिर गर्दै उक्त पार्टी दर्ता खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । अहिले ती नेताहरु पश्चातापको भूमरिमा लड्किएर माओवादी केन्द्रको विरुद्धमा उत्रिएका छन् ।