काठमाडौं – सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद समाधानका लागि गत १० दिनदेखि लगातार बस्दै आएको नेकपा एमाले कार्यदलको बैठक आज पनि साढे ११ बजेदेखि सिंहदरबारमा बस्दैछ । हिजोविहीबार साँझ माधव पक्षका नेताहरु आक्रोशित बनेपछि आज ओली पक्ष केही नरम रुपमा प्रस्तुत भएको हो । एमालेभित्रको विवाद मिलाउन दुई पक्षबाट ५–५ जना सदस्य रहेको १० सदस्यीय कार्यदलले केही दिनयता सिंहदरबारस्थित अर्थमन्त्रालयमा वार्ता गर्दै आइरहेको छ । १० दिनयता विभिन्न छलफल र वार्ताहरु भए पनि निश्कर्ष निस्कन सकेको छैन । आज शुक्रबार पनि बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरुवीच अनौपचारिक छलफल शुरु भएको छ ।

वरिष्ठ नेपाल पक्षका एक सदस्यका अनुसार, ‘आज उहाँहरु केही नरमरुपमा प्रस्तुत हुनुभएको छ, सहमतिमा आउने सम्भावना पनि देखिएको छ,’ फागुन २३ यता उहाँहरुले गरेका एकलौटी निर्णयहरु सबै खारेज हुनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो, हस्ताक्षर फिर्ताको त च्याप्टर नै क्लोज भइसक्यो ।’ आज बस्ने कार्यदलको बैठकमा सहमति जुटेपछि फेरि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच होटल मेरियटमा भेट वार्ता हुने र दुई नेताबाट संयुक्त वक्तव्य जारी हुन सक्ने एक नेताले जानकारी दिनुभयो ।