काठमाडौं – पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जाने तयारीमा छन् । टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोग जान लाग्नुभएको हो । लेखराज भट्ट विरामी भएर जान नसक्ने पूर्व माओवादी नेता मणि थापाले बताउनुभएको छ । अधिवक्ता सरोज बुढाथोकीले बुधबार आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराएका थिए ।

थापाका अनुसार,’हामीले निवेदन दर्ता गराएका थियौं । आयोगले के गर्दै छ भनेर बुझ्न निर्वाचन आयोग जान लागेका छौं ।’ पूर्व माओवादी नेता साह, रायमाझी, भट्ट र चौधरी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँहरु दलबदल गरी नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी पार्टीले कारवाही गरेको थियो । माओवादीबाट कारवाही परेसँगै उहाँहरुको सांसद पद खारेज भएको थियो । उहाँहरुले आफूमाथि गरिएको कारवाही अवैधानिक रहेकोमात्र नभई माओवादी केन्द्र नै अवैधानिक रहेको दावी अधिवक्ता बुढाथोकीका नामबाट दर्ता भएको निवेदनमार्फत प्रस्तुत गर्नुभयो ।