काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि असार २४ सम्म ५१ जनाको मृत्यु भएको छ । मनसुनजन्य घटनामा परी यो अवधिमा पाँच बालकसहित ३१ पुरुष र पाँच बालिकासहित २० महिलाले ज्यान गुमाएका हुन् ।

तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीन/तीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा दुई/दुई, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालीकोट, पाँचथर, बझाङ र बाजुरामा एक/एकजनाको मृत्यु भएको हो ।

बाढी–पहिरो र डुबानमा परी यो अवधिमा ७१ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ११ बालकसहित ४७ पुरुष र पाँच बालिकासहित २४ महिला रहेका प्रहरीले जनाएको छ ।

तनहुँमा १०, पाल्पामा सात, धादिङमा ६, सिन्धुपाल्चोक र रोल्पामा पाँच÷पाँच, धनुषा र सर्लाहीमा चार/चार, खोटाङ, कास्की, म्याग्दी र डोटीमा तीन/तीन, जुम्ला, चितवन, दाङ, दार्चुला र गोरखामा दुई/दुई, पाँचथर, संखुवासभा, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, बाजुरा र सल्यानमा एक/एकजना घाइते भएका हुन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

यस्तै, बाढी–पहिरोमा परी २९ जना बेपत्ता छन् । तीमध्ये तीन बालकसहित २२ पुरुष र एक बालिकासहित सात महिला रहेका छन् । सिन्धुपाल्चोकमा २०, चितवनमा तीन, पर्वत र तनहुँमा दुई/दुई, बाजुरा र बागलुङमा एक/एकजना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।